प्रचण्ड किन झस्किए,एमाले महाधिवेशन र कांग्रेस सभापतिको अभिव्यक्तिले



नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्लामा चार दिन बिताए । उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडी र भरतपुरका विभिन्न कार्यक्रममा सहभागी भए । जनताको घर दैलो पनि गर्न भ्याए ।

सत्तारुढ दलका नेतासमेत रहेका प्रचण्डले बिहीबार माडीको हनुमानझुला पुगेर सुकुमबासीलाई नागरिकता बाँडे । उनले सुकुमबासीलाई गठबन्धनको सरकारले छिट्टै लालपुर्जा दिने आश्वासन पनि दिए । नागरिकता बाँड्ने काम जिल्ला प्रशासन कार्यालयको भए पनि उनले नागरिकतालाई राजनीतिक स्वार्थसँग जोडे ।

एमालेको महाधिवेशन तय र नेपाली कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठको अभिव्यक्तिपछि प्रचण्ड केही झस्किएको जस्तो देखिन्छन् । विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान गर्न शुक्रबार आयोजित कार्यक्रममा सहभागी भएका प्रचण्ड शुभकामना दिनुको साटो एमाले अध्यक्ष ओली र कांग्रेस जिल्ला सभापतिविरुद्ध खनिए ।

उनले भने, ‘देशभरिको ध्यान चितवनमै केन्द्रित छ । चितवनमा चुनाव मात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ । ठूलो टक्कर हुँदैछ ।’ कार्यक्रममा बाबुछोरी नै एमाले र चितवन कांग्रसमाथि खनिए ।

आगामी चुनावमा आफू र माओवादी केन्द्रलाई हराउने रणनीति बनाउनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको प्रचण्डले आशंका गरेका छन् । एमालेले गृह जिल्ला चितवन नै भएका रामबहादुर थापा बादललाई महाधिवेशन व्यवस्थापनको संयोजक बनाएको छ ।

नेकपा विभाजनपछि पनि बादल एमालेमै बसेपछि बादल र प्रचण्डबीच दुष्मनी बढेको छ । बुटवलमा तय भइसकेको महाधिवेशन अन्तिम समयमा आएर चितवनमा गर्ने निर्णय भएको थियो । आगामी १०–१२ मंसिरमा हुने महाधिवेशनको बन्दसत्र नारायणी नदी किनार र बन्दसत्र सौराहामा हुँदै छ ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी चुनावमा माओवादी केन्द्रसँग चुनावी गठबन्धन नगर्ने र रुख चिह्न बाहेक अन्त भोट नहाल्ने बताउँदै आएका छन् । कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले त केही दिनअघि प्रचण्ड र रेनु दाहाललाई चितवनबाट लखेट्ने अभिव्यक्ति नै दिए ।

श्रेष्ठको अभिव्यक्तिलाई प्रचण्डले वर्गीय स्वार्थ बाहेक अरू केही नभएको बताए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन बनेको थियो ।

भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाललाई जिताउन कांग्रेसले ठूलै मिहेनत गर्‍यो र जितायो पनि । मतपत्र च्यातेको विषयमा समेत कांग्रेस चुइक्क बोल्न सकेन । त्यसपछि २०७४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा भने माओवादी केन्द्रले एमालेसँग बाम गठबन्धन गर्‍यो । चितवन निर्वाचन क्षेत्र ३ बाट प्रचण्ड विजयी बने । त्यतिबेला कांग्रेसीहरू माओवादी अध्यक्ष प्रचण्ड र आफ्नै पार्टीको केन्द्रीय नेतृत्वप्रति रुष्ट बनेका थिए ।

अबको चुनावमा माओवादी केन्द्रसँग गठबन्धन नगर्ने कांग्रेसको संस्थापन इतरले भन्दै आएको छ । सोही कारण पनि प्रचण्ड झस्किएका हुन सक्छन् । यद्यपि अबको चुनाव पनि चितवनबाटै लड्ने प्रचण्डले बताएका छन् ।

आफू डराउने खालको मान्छे नभएको भन्दै उनले अबको चुनावमा चितवन राजनीतिको कुरुक्षेत्र बन्ने बताएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चितवनका ९८ वटा वडाहरूमध्ये माओवादी केन्द्रले सात वटा वडामा मात्रै जितेको थियो । एमालेले ५६ र कांग्रेसले ३५ वडामा जित हात पारेको हो ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति समिति सिन्धुलीको अध्यक्षमा डा. हरि प्रसाद पोख्रेल निर्वाचित भएका छन् । राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिकाको प्रथम सम्मेलनले जिल्लाका नौ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका नौ

नेपाली कांग्रेस सिन्धुली संघीय क्षेत्र नम्बर २ मा देउवा पक्षीय उम्मेदवार कुमार ढकाल एक मत अन्तरले निर्वाचित भएका छन् ।