बागमती प्रदेशको एग्रिगेटर सूचना बैक



बागमती प्रदेशको एग्रिगेटर सूचना बैक उद्घाटन गर्दै, आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रान्ति

करीव दुई बर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक https://infobank.bagamati.gov.np/ सञ्चालनमा ल्याएको छ ।

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम शुक्रबार प्रदेशको राजधानी हेटौडामा आन्तरिक मामिला तथा कानून मन्त्री डा अजयक्रान्तिले उदघाटन गर्नु भएको हो । बागमती प्रदेशको सूचना बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सक्ने बनाइएको छ ।


‘नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैठक सञ्चालनमा आउन सक्नु गर्वको बिषय हो । अहिले १४ वटा कार्यालयको सूचना सूचना बैंकमा आउनेछ । बागमती प्रदेशका ११९ वटै स्थानीय तहका सूचना आउने सक्ने गरी बनाउन सकिनेछ । सूचना बैंकलाई व्यवस्थित गर्न निर्देशक समितिले निर्देशन दिनेछ’ मन्त्री शाक्यले भन्नुभयो ‘अव बागमती प्रदेशको सूचना पाउन कतै भौतारिनु पर्दैन,सूचना बैंकमा सर्च गर्दा हुन्छ । बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको यो एउटा गतिलो उदाहरण हो ।’ मन्त्री शाक्यका अनुसार मन्त्रालयले बागमती प्रदेशका सबै ऐन कानून एपमा राखेर चाँडै ल्याउने गृहकार्य गरिरहेको छ । ‘त्यसका लागि मन्त्रालय दत्तचित्त भएर लागिरहेको छ’ मन्त्री शाक्यले भन्नुभयो ।


आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव मदन भुजेलले सूचना बैंकको प्रभावकारीता र उपयोगितालाई बढाउनु पर्नेमा जोड दिनुभयो । ‘यो सूचना बैंकको उपयोग पत्रकार र आम नागरिकले भरपुर रुपमा प्राप्त गर्न सक्नुहुनेछ’ सचिव भुजेलले भन्नुभयो ‘बागमती प्रदेशमा बनेको यो सूचना बैंक अरु प्रदेशका लागि पनि सिक्न लायक नमूना हुन सक्छ ।’


बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेवसाइट सर्च गर्नु पर्दैन, सूचना बैंकको पोर्टलमा सर्च गर्दा ती १४ वटै कार्यालयका वेवसाइटमा राखिएका सूचना पाउन सक्ने गरी बनाइएको छ । ‘बागमती प्रदेशका सबै कार्यालय र स्थानीय तहलाई यो सूचना बैंकमा लिंक गर्दा यो बागमती प्रदेशको सूचना बैंकले पूर्णता पाउनेछ । यसरी नै बाँकी ६ वटा प्रदेशले पनि आ आफनो प्रदेशको सूचना बैंक बनाइदिएमा संघीय सरकारले सात वटै प्रदेशका सूचना बैंकलाई लिंक गरी नेपालको सूचना बैक बनाउन सकिन्छ ।’ सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार नेपालमा पहिलो पटक बनेको सूचना बैकको पोर्टलबाट अहिले बागमती प्रदेशका १४ वटै कार्यालयका सूचना वा दस्तावेजहरु डाउनलोड गर्न सकिन्छ ।


गभर्नेस अटोमेसन सोलुसनले तयार गरेको सूचना बैंकमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,भौतिक पूर्वाधार बिकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिष्ट्रारको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वेवसाइटमा राखिएका सूचना सूचना बैंकमा संग्रहित गराइएको छ ।


सुशासन र पारदर्शीताका लागि सूचना महत्वपूर्ण हुन्छ। यस मर्मलाई आत्मसाथ गर्दै नेपालको संविधानले प्रत्याभुत गरेको बिचार र अभिव्यक्तिको स्वतन्त्रता, सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बर्धन गर्दैस प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ को दफा ५५ बमोजिम यो सूचना बैंक बनेको हो । प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ को दफा ३, ४ र ५ बमोजिम प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वको सूचनाहरु संकलन, भण्डारण र वितरण गर्न सूचना बैंक उपयोगी हुने भएकोले सञ्‍चार रजिष्ट्रारको कार्यालयले सूचना बैंकको स्थापना गरेको हो ।


आधिकारिक सार्वजनिक सूचनाहरु छिटो तथ सहज रुपमा प्राप्त गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्न, डिजिटल नेपाल र डिजिटल बागमती प्रदेश बनाउने सरकारको उद्देश्यलाई साकार पार्न प्रदेशका सबै मन्त्रालय र अन्तर्गतका कार्यालयका सूचनालाई एक ठाउँमा केन्द्रित गरी सूचनाका उपभोक्तासम्म पुरयाउन एग्रिगेटरका रुपमा पनि सूचना बैंक उपयोगी हुनेछ ।


हाल प्रदेशका १४ वटा कार्यालयका वेवसाइटमा राखिएका सूचना तथा अन्य महत्वपुर्ण सामग्री सूचना प्रविधिको प्रयोग मार्फत तत्कालै सूचना बैंकमा संग्रहित हुनेछ । सूचना बैंकमा समेटिएका कार्यालयको सूचनाका लागि सम्बन्धित कार्यालयको वेवसाइटमा नगइकन प्राप्त गर्न सकिनेछ भने सम्बन्धित कार्यालयको वेवसाइटमा पनि सूचना बैंक मार्फत नै पुग्न सकिनेछ ।


संसारभरका नेपाली नागरिकलाई बागमती प्रदेशको सूचना प्राप्त गर्ने भोक सहजै मेटाउने उद्देश्यले तयार गरिएको यो सूचना बैंकलाई आगामी दिनमा बिस्तार गर्दै लगिनेछ । कुनै पनि बिषय पूर्ण नभए जस्तै सूचना बैकमा यहाँहरुको निरन्तरको चासो, जिज्ञासा र सुझावले यसलाई पूर्णता तर्फ अघि बढाँउन मद्दत पुरयाउँनेछ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌

सिन्धुली । उद्योगी व्यवसायीहरु सँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी  अन्तरक्रिया गरिएको छ । “आजको स्वच्छ  भोजन, भोलीको स्वस्थ