सेनिटरी प्याडबाट सरकारले उठायो वर्षमै १७ करोड भन्सार



सरकारले सेनिटरी प्याड र टेम्पोन आयातमा गत वर्ष १७ करोड रुपैयाँभन्दा बढी भन्सार महसुल उठाएको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा १ अर्ब १७ करोड रुपैयाँका सेनिटरी प्याड र टेम्पोन आयात गरिएको थियो ।

आर्थिक ऐन २०७७ मा सेनिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महसुल लाग्ने उल्लेख छ । चालु आर्थिक वर्षको साउनमा मात्रै ८ करोड ७९ लाख रुपैयाँका सेनिटरी प्याड र टेम्पोन आयात गरिएको छ जसबाट राज्यले १ करोड ३१ लाख रुपैयाँभन्दा बढी भन्सार महसुल संकलन गरेको छ ।

पछिल्लो समय स्वदेशी सेनिटरी प्याडको उत्पादन बढे पनि पर्याप्त नहुँदा अझै खपतको ९० प्रतिशत आयात हुने गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा सेनिटरी प्याड र टेम्पोन आयातमा २ अर्ब १८ करोड ४८ रुपैयाँ बाहिरिएको थियो । आर्थिक ऐन २०७६ मा भने सेनिटरी प्याडका लागि छुट्टै महसुल उल्लेख छैन ।

‘प्याडको महसुल दर भने परिवर्तन भएको छैन । आर्थिक ऐन २०७६ मा अरू नै शीर्षकअन्तर्गत यसलाई समेटिएको थियो जस्तो लाग्छ,’ भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘भन्सार महसुल विगतदेखिकै हो । अहिले परिवर्तन भएको छैन ।’ आर्थिक ऐन २०७७ मै भएको भन्सार महसुलसम्बन्धी व्यवस्थालाई २०७८ को आर्थिक अध्यादेशमा निरन्तरता दिइएको थियो । आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा पनि त्यही उल्लेख छ । नेपालमा सेनिटरी प्याड र टेम्पोन भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकीलगायत मुलुकबाट ल्याइन्छ ।

उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले सेनिटरी प्याड उत्पादन गर्ने उद्योगको संख्या बढ्दो क्रममा रहेको बताए । पुँजीगत सिलिङका हिसाबले सेनिटरी प्याड उद्योग घरेलु कार्यालयमा दर्ता हुन्छन् । ‘सेनिटरी प्याडमा बढी मुनाफा भएकै कारण पछिल्लो समय उद्योग दर्ता बढेको छ । दर्ता तथ्यांक प्रदेशको घरेलु कार्यालयहरूबाट निकाल्दै छौं,’ उनले भने । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारी व्यवस्थापन सामग्री सेनिटरी प्याड वितरण गर्ने घोषणा गरेको थियो । त्यहीअनुसार सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ समेत बनेको छ ।

राजस्व सचिव कृष्णहरि पुस्करले पनि ट्वीट गर्दै सेनिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति सरकारले लिएको जनाएका छन् । ‘नेपाल सरकारले अहिले सेनिटरी प्याडमा कुनै कर, दस्तुर, महसुल वृद्धि गरेको छैन,’ उनले लेखेका छन्, ‘बरु देशभित्र सेनिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएको छ ।’ भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले पनि सेनिटरी प्याडको भन्सार दरमा तलमाथि नभएको दाबी गरे ।

‘पछिल्लो समय भन्सार महसुल बढेको छैन, मान्छे त्यसै लागेका छन्,’ उनले भने, ‘अघिल्लो बजेटमा जस्तो थियो, अहिले पनि त्यही नै छ । एक अक्षर तलमाथि छैन ।’ नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर नहुँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सेनिटरी प्याडको नेपाल स्टान्डर्ड बनाइएको जानकारी दिए । ‘केही उद्योग एनएस चिह्न लिने क्रममा छन्,’ उनले भने ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुलीका युवा ब्यबसायी टलकबहादुर बुढाथोकिले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीलाई फूल सहितको गमला दिएका छन्। कमलामाई नर्सरी फर्मका संचालक समेत

राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति समिति सिन्धुलीको अध्यक्षमा डा. हरि प्रसाद पोख्रेल निर्वाचित भएका छन् । राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको

सिन्धुली । फिक्कल गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । साेमबार गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ र ०७८/०७९ को पहिलो