४८ वर्षदेखि खराउकै भरमा हिँड्छन् ‘खराउ सर’



मोरङको बेलबारी- ७ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँडिरहेका छन् । न उनी साधू, न त कमजोर आर्थिक अवस्थाका व्यक्ति, उनले खराउ लगाएर हिँडेको देख्दा मानिसहरू टक्क उभिएर हेर्छन् ।

बाहुनीको जनता उच्चमाविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त भएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन । लीला सरको खुट्टामा खराउ परेको ४८ वर्ष भयो । ‘किन खराउ लगाउनुभयो ?’ भन्ने जिज्ञासामा उनी भन्छन्, ‘२२ वर्षको उमेरमा दाहिनेपट्टि हर्निया निस्कियो । २०३० सालमा नेपालमा उपचार गर्न संभव नै थिएन । भारतसम्म पुग्ने आर्थिक हैसियत भएन । त्यसै बेला एक साधुले खराउ लगाउन सुझाव दिए ।’

त्यसै बेलादेखि खराउ लगाएको उनले सुनाए । उनका अनुसार उति बेला खाली खुट्टा नै हिँड्ने समय थियो । गाउँमा इनेगिनेले मात्र खुट्टामा जुत्ता चप्पल लगाउँथे ।

साधुले भनेअनुसार लीलाले गाउँका सिकर्मीलाई खराउ बनाउन लगाए । सिमलको रूखको काठ खोपेर खुट्टाको बूढी र माइली औँलाले च्याप्ने गरी टुसो निकालेर खराउ तयार भयो ।

‘सुरुमा त अप्ठ्यारो भयो तर हर्नियाबाट मुक्त हुनु थियो’, सुरुवाती दिन सम्झिँदै उनी भन्छन्, ‘त्यसैले दैनिक औँलाको बीचबाट रगत चुहाउँदै १९ महिना खराउ लगाएँ ।’

१९ महिनामा हर्निया आफैँ हरायो । त्यसयता लीलालाई हर्नियाले दुःख दिएको छैन रे ! उनी भन्छन्, ‘मलाई खराउ सञ्जीवनी बुटी जस्तै भयो ।’

युग जतिसुकै आधुनिक भए पनि पूर्वीय शास्त्रमा सबै रोगको उपचार गर्ने पद्दति भएको उनको भनाइ छ । ‘अहिले खराउ बनाइदिने सिकर्मी पाइँदैनन्, त्यसैले आफैँ बनाएर लगाउँछु’, उनले भने ।

अब त उनको नाम नै ‘खराउ सर’ भइसकेको छ । सबैले लीलाभन्दा पनि खराउ सर भनेर चिन्छन् । ‘जे भने पनि म सन्तुष्ट छु, त्रेता युगको चप्पल अझै जोगाएको छु’, उनले हाँस्दै भने, ‘मेरो फाइदाका लागि भए पनि ।’

सुगर, प्रेसर, हाइड्रोसिल जस्ता रोगको खराउ चप्पलले ठीक पार्ने उनको अनुभव छ । चौधरीले भने, ‘अहिले सबै बजारकै भर पर्छन् अनि ४० वर्ष नपुग्दै विभिन्न रोगले भेट्छ । रोग लागे घरायसी औषधि र खेतबारीको जडिबुटी खाँदा नै रोग निको हुन्थ्यो ।’

आफूले नीम जातको काठको खराउ लगाउने गरेको उनले सुनाए । एक जोर चप्पल नौ महिना मात्र टिक्ने पनि उनको अनुभव छ ।

खराउ लगाएरै सबैतिर आफू जाने गरेको चौधरीले सुनाए । चौधरीले आफू मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा जाँदा आफ्ना खराउ हेरेर विभिन्न प्रश्न सोध्ने गरेको बताउँछन् । कतिले चाहिँ आफूलाई हाँसोको पात्र नै बनाउने गरेको उनको तीतो अनुभव छ ।

सधैँ खराउ लगाउने उनी जाडो यामका दुई महिना भने खराउ लगाउँदैनन् । धेरै जाडो हुने समयमा जुत्ता लगाउने गरेको र जुत्ता लगाउँदा खुट्टा मात्र नभई पूरै शरीर नै दुख्ने गरेको उनी सुनाउँछन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

करीव दुई बर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक https://infobank.bagamati.gov.np/ सञ्चालनमा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌